नेपाल आदिवासी जनजाति संघको गण्डकी प्रदेशस्तरीय भेला हुने

राष्ट्र न्यूज सम्वाददाता
चैत्र १२, २०७७
adibasi

पोखरा, १२ चैत । नेपाल आदिवासी जनजाति संघ तथा आदिवासी जनजाति विभागको संयुक्त आयोजनामा पोखरामा चैत १७ र १८ गते गण्डकी प्रदेशस्तरीय भेलासहित प्रशिक्षण हुने भएको छ ।

भेलालाई नेपाली काँग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री सशांक कोइराला लगायतका शीर्ष नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको नेपाल आदिवासी जनजाति विभागका प्रमुख सीता गुरुङले जानकारी दिइन् ।भेलाको उद्घाटन नेपाली काँग्रेस कास्कीको प्राङ्गणमा हुने छ ।

पोखरामा बिहीबार आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार भेलामा गण्डकीका ११ वटै जिल्लाबाट सहभागिता रहने छ । देशभर ५९ जनजातिमध्ये गण्डकीमा हाल १४ रहेको पाइन्छ ।

भेलामा प्रत्येक जिल्लाबाट ७÷७ जना सहित कुल १ सय ५० जनाको सहभागिता रहने नेपाल आदिवासी जनजाति संघका केन्द्रीय अध्यक्ष इन्द्रबहादुर गुरुङले जानकारी दिए ।

काँग्रेसमा आबद्ध जनजातिहरुलाई ऐक्यवद्ध गर्ने र जनजातिको मुद्दा सम्वोधनका लागि नेतृत्वलाई दबाब दिने उद्देश्य रहेको छ ।

पत्रकार सम्मेलनमा आदिवासी जनजाति संघ गण्डकीका अध्यक्ष जीत गुरुङ, नेपाल आदिवासी जनजाति विभागका सदस्य आङछिरिङ शेर्पा लगायतले बोलेका थिए ।संघले देशका सात वटै प्रदेशमा भेलासहित प्रशिक्षण गर्ने कार्यक्रम तय गरेको छ ।

यसैबीच, नेपाल आदिवासी जनजाति संघ कास्कीले शनिवार पोखरामा शुभकामना आदानप्रदान, नयाँ वर्ष २०७८ को क्यालेण्डर विमोचन र सम्मान कार्यक्रम गर्ने भएको छ ।

नेपाली काँग्रेसका सहमहामन्त्री डा प्रकाशशरण महतको प्रमुख आतिथ्यतामा कार्यक्रम हुने संघका अध्यक्ष आश बहादुर गुरुङले जानकारी दिए ।

अध्यक्ष गुरुङले कार्यक्रममा सहभागिताका लागि सबैलाई अनुरोध गरेका छन् ।

Related News

सम्बन्धित समाचार

Archives

Archives