हात्तीको आक्रमणबाट बच्न गणेश पूजा

रासस
चैत्र २, २०७७
CKB-Jhapa-Muthbhed c

हात्तीसँगको मुठभेडमा बाँचेका झापाको भद्रपुर नगरपालिका वडा नं १ का पदमबहादुर राई आक्रमण नदोहोरियोस भनेर पूजापाठ गर्न थालेको गणेश भगवानको मूर्ति देखाउँदै । तस्वीर ः चन्द्रकला भण्डारी, रासस

–चन्द्रकला भण्डारी

झापा, २ चैत (रासस) ः बिहानीपख भालेको डाकसँगै बारीमा स¥याकसुरुक्क आवाज आएपछि झस्किएकी पवित्रा राईले मस्त निद्रामा रहेका पति पदमबहादुरलाई ब्युँझाउँदै भनिन्, “छिटो उठ्नुस्, भागौँ, हात्ती आइसक्यो ।”

झापाको भद्रपुर नगरपालिका–१ दशरथपुरमा बाँसका बेरा र टिनको छानो भएको सानो घरमा बस्दै आएका छन् पदमबहादुर राईको दम्पती । उनीहरु नजीकको जलथल जङ्गलबाट गाउँ पसेको जङ्गली हात्तीको आक्रमणबाट बच्न एक महिनाअघि गरेको प्रयास थियो त्यो ।

“त्यसछि ओछ्यानबाट उठेर आँखा मिच्दै आँगनमा पुगेँ”, ६६ वर्षीय पदमबहादुरले हात्तीसँगको मुठभेडमा कालको मुखबाट उम्किएको कथा सुनाउन थाले । “लामो दाह्रा हल्लाउँदै एउटा हात्ती मेरो अघि उभिएको थियो । म पूर्वतिर सास नफेरी भागेँ । बीस फड्को मारिनसक्दै हात्तीले लखेटेर समायो । सुँढले बेरेर पहिले लडायो, अनि खाँबो जत्रो खुट्टा र भालुबास जत्रो सुँढले लतार्न थाल्यो । म खेतको आली मुन्तिर ढुन्मुनिएर पछारिएँ ।”

पदमबहादुर भन्दै थिए, “उसले मलाई टाङमुनि हालेर कुल्चेर मार्न खोजिरहेको थियो । मैले बाँच्ने आश मारिसकेको थिएँ । तैपनि मर्ने नै भइसकेपछि किन नभिड्नु भन्ने सोचेर हातमा भएको फगी लाइटले उसको सुँढमा लगातार बेस्मारी हिर्काइरहेँ । मलाई सँुढले बेर्न खोजिरहेको थियो । दाह्राले मलाई भुइँमा धस्न खोज्यो । उसको दाह्रा आलीको डिल भत्काउँदै छलिएर गयो । उसले खुट्टाले कुल्चिन खोज्यो, मैले सर्पले झैँ जीउ बटारेर छलेँ । भुइँको माटोको धुलो मुठ्याएर हात्तीको आँखैमा फ्याँकिदिएँ । फेरि मैले फगी लाइट र मुड्कीले उसको सँुढको टुप्पो र निधारमा हिर्काइरहेपछि हात्ती क्वाँ गर्दै कराएर पछाडि हट्यो ।”

घरजत्रो भीमकाय जङ्गली हात्तीलाई भिडन्तमा यसरी पराजित गर्न सकुँला भन्ने उनले कल्पनासम्म गरेका थिएनन् । माघ महिनामा चारैतिर बाक्लो हुस्सु लागेका कारण नजीकैको वस्तु देख्न मुस्किल थियो । मुठभेडमा हात्ती हच्किएर ५० मिटर जति पर भागेपछि पदमबहादुरले लामो सास फेर्दै परालको माचमा छलिएर बँचेखुँचेको तागत निकाल्दै पूर्वैतिर घस्रिएर भागेको बताए ।

“म जसोतसो पल्लो गाउँको छेउमा पुग्दा गाउँलेहरु मतिरै आउँदै गरेजस्तो लाग्यो । ‘श्रीमान्लाई हात्तीले मा¥यो, बचाउ बचाउ’ भन्दै मेरी श्रीमतीले गाउँलेहरुलाई गुहारेर ल्याउँदै गरेको भेटेँ । जब मलाई उनीहरुले जिउँदै देखे, अनि त सबैजना छक्क परे ।” उनले त्यो रातको कथा सुनाए । श्रीमती पवित्रा राई भने हात्तीले आफ्नो पतिलाई आक्रमण गरेर मारेको ठानी गुहार माग्दै पल्लो गाउँ पुगेकी थिइन् ।

पदमबहादुर बस्ने भद्रपुर–१ मा विगत तीन वर्षमा तीनजनाले हात्तीको आक्रमणमा मृत्युवरण गरिसकेका छन् । मुठभेडमा बाँच्नेमा उनी एक्लो हुन् । प्रायः हात्तीले मानिसमाथि आक्रमण गर्दा सुँढले बेरेर भुइँमा पछार्ने, बलिष्ठ खुट्टाले कुल्चिने र तीखो दाह्राले शरीरमा धस्ने गर्दछ । हात्तीले पदमबहादुरलाई आक्रमण गर्दा मार्नका लागि सक्दो प्रयास गरेको थियो ।

हात्तीको ज्यानमारा आक्रमणबाट बाँच्नुलाई अर्को जन्म ठानेका उनले त्यसपछिका रातहरु पनि ढुक्कले निदाउन सकेका छैन । हात्तीको आक्रमणमा उनको ढाड, खुट्टा र हातमा चोट लागेको थियो । अहिले पनि चोटहरु दुखिरहने उनले बताए । उपचारका लागि एक दिन मेची अञ्चल अस्पतालमा बिताएपछि पदमबहादुर दम्पतीले १३ दिनसम्म घरमा दैलो लगाएर पल्लो गाउँका चन्द्रबहादुर सुब्बाको घरमा शरण लिएर रात बिताउनु प¥यो ।

मुठभेडमा बाँचेपछि एक दिन भद्रपुरका नगरप्रमुख जीवनकुमार श्रेष्ठले फोन गरेर ‘पदम दाइ म भेट्न आउन सकिनँ, नयाँ जीवनको शुभकामना छ’ भनेको उनले सुनाए । एक दिन बाँचे पनि हरेक दिन हात्ती गाउँ पस्ने गरेका कारण पदमबहादुरको मनमा त्यस्तै घटना फेरि दोहोरिने हो कि भन्ने चिन्ता बाँकी नै छ ।

“घाइते भएको हात्ती बदला लिन फेरि आउँछ भनेर गाउँलेहरुले डर देखाएका छन् । रातभरि निद्रा लाग्दैन । उनी (पदमबहादुर) पनि राति हात्ती आएको सपना देखेर झस्किएर ब्युँझिने गर्नुहुन्छ” पदमबहादुरकी पत्नी पवित्रा राईले भनिन् ।

हात्तीको आक्रमण फेरि नहोस् भनेर उनीहरुले घरको पहिलो ढोकानेर गणेशको मूर्ति राखेर दैनिक पूजापाठ गर्न थालेका छन् । “हात्तीलाई मैले सुँढ र निधारमा हिर्काएर चोट लगाएको छु । त्यो चोटको बदला दिन नआउनुहोस् भन्दै गणेश भगवानसँग माफी माग्दै पाठपूजा गर्दैछु । गाउँलेहरुको सल्लाह मानेर यसो गरेको हुँ ”गणेशको मूर्ति राखेको स्थान देखाउँदै पदमबहादुरले भने ।

उनको घरसँगै सडक जोडिएको छ । सडकसँग जलथलको घना चारकोशे जङ्गल टाँसिएको छ । वरिपरिका सात घर हात्तीको त्रासले बसाई हिँडेर अन्यत्रै गएपछि अहिले पदमबहादुरको घर एक्लै भएको छ । अर्को जन्म पाएसरहका उनको अवस्था बुझ्न स्थानीय सरकार र सम्बद्ध निकायबाट आजसम्म कोही पुगेका छैनन् ।

पच्चीस वर्षदेखि बसोबास गर्दै आएका उनले सरकारबाट पुनर्वास परियोजनामार्फत् पाएको १५ कठ्ठा पाखो जग्गा छाडेर बसाई हिँड्न चाहेका छैनन्। “बेचौं भने जग्गा कसैले किन्दैन, छाडेर जान मनले मान्दैन,” उनले भने “लगाएको मकै, कोदो, धान र तोरी बाली पनि हात्तीले नै खाइदिन्छ । बाँच्न गाह्रो भएको छ हामीलाई” दिनभरि जङ्गलमा आराम गर्ने हात्तीले रात परेपछि गाउँमा पसेर बाली खाएर र कुल्चेर क्षति पु¥याउने गरेका छन् ।

घर माया मार्न नसकेपछि पदमबहादुरले हात्तीबाट बँच्न घर वरिपरि बिजुलीको तार टाँगेका छन् । राति ८ बजेपछि त्यो तारमा बिजुलीको करेन्ट प्रवाह गरिन्छ । विहान ४ बजे मात्र करेन्ट बन्द गरिन्छ । उनले आफ्नो घर चारपटक हात्तीले भत्काउने प्रयास गरिसकेको बताए । हात्तीको डरले साँझ परेपछि घरभित्र पसेर दैलो लगाउने गरेका उनले विहान उज्यालो भएपछि मात्र ढोका खोलेर बाहिर निस्कने गरेको बताए ।

स्थानीयवासीका अनुसार चारकोशे जलथल जङ्गलमा तीनवटा हात्ती बस्दै आएका छन् । आहारको खोजीमा गाउँ पसेका बेला तिनले घर भत्काउने र मानिसमाथि हिंसात्मक आक्रमण गर्दै आएका छन् । सरकारले जङ्गल वरिपरि विद्युतीय तारबार गरेको छ । तर त्यसलाई छिचोलेर हात्ती गाउँसम्म सजिलै पुग्ने गरेका छन् । थुप्रै स्थानमा बिग्रिएका विद्युतीय तारबारको समयमै मर्मत सम्भार हुने गरेको छैन ।

एक दशकअघिसम्म झापाको उत्तरी क्षेत्रका बाहुनडाँगी, बुधवारे, मेचीनगर र खुदुनाबारीमा मात्र हात्तीको आक्रमण हुन्थ्यो । तर अचेल जिल्लाको दक्षिणी क्षेत्रका भद्रपुर, कचनकबल, हल्दिबारी र बाह्रदशी पालिकामा जङ्गली हात्तीको आक्रमण र त्यसबाट हुने क्षति बढिरहेको छ । मानवीय क्षति पनि बढेको बढ्यै छ ।

ग्यास्ट्रिक, प्रेसर, दम, प्रोस्टेटलगायतका विभिन्न रोगका बिरामी पदमबहादुरको दम्पत्तिलाई रोग र भोकले भन्दा हात्तीको आक्रमणबाट अचानक मरिएला कि भन्ने त्रास सताएको छ । आफुसँग रहेको एउटा फगी लाइट हात्तीसँगको भिडन्तमा फुटेर बिग्रिएपछि उनीसँग अहिले राति बाहिर हेर्ने उज्यालोको कुनै प्रबन्ध छैन । सरकारका कुनै निकायले पनि उनलाई हात्तीबाट बचाउन सहयोग गरेका छैनन् ।

Related News

सम्बन्धित समाचार

Archives

Archives

Recent News

भर्खरै