लहान, १ चैत (रासस) । सिरहाको लहानस्थित मालपोत कार्यालयमा आज अपराह्न बम विस्फोट हुँदा एक कर्मचारीसहित आठ जना घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको गम्भीरावस्था छ ।
कार्यालय सञ्चालन भइरहेका बेला भवनको पहिलो तल्लामा अचानक अपराह्न १ बजेतिर बम बिस्फोट हँुदा छर्रा लागेर मालपोत कार्यालय लहानमा कार्यरत कर्मचारी ३८ वर्षीय शिवकुमार यादव र लेखापढी व्यववसायी ७८ वर्षीय भोला पाचेमगर घाइते भएका छन् ।
बमकै छर्रा लागेर सेवाग्राही सिरहा, धनगढीमाई नगरपालिका– १३ निवासी ३५ वर्षीय दिनेश भण्डारी, लहान नगरपालिका– १६ तरेगाना निवासी ५२ वर्षीय लालबहादुर विक, भगवानपुर गाउँपालिका– ३ निवासी ५४ वर्षीय बद्रीनारायण यादव, गोलबजार नगरपालिका– ४ निवासी ३८ वर्षीय फुलकुमार ठाकुर तथा गोलबजार– ६ निवासी ३५ वर्षीय लक्ष्मी राणा र ३५ वर्षीया बेचनी मगर घाइते भएको इलाका प्रहरी कार्यालय लहानले जनाएको छ ।
घाइतेमध्ये भण्डारी र कर्मचारी यादवको अवस्था गम्भीर रहेकाले उपचारका लागि विराटनगर पठाइएको र बाँकी घाइतेको लहानस्थित सप्तऋषि अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय लहानका प्रहरी नायब उपरीक्षक तपनकुमार दाहालले जानकारी दिए ।
विस्फोटबाट कार्यालयको एउटा कोठामा आगोसमेत लागेको छ । आगो वारुण यन्त्रले तत्कालै नियन्त्रणमा लिएको थियो । उनका अनुसार घटनास्थलमा जयकृष्ण गोइत नेतृत्वको जनतान्त्रिक तराई मुक्तिमोर्चाको पर्चा पम्पलेट फेला परेको छ ।
Related News
सम्बन्धित समाचार
पोउवा संघको ६९ औं वार्षिक अधिवेशन
राधा–लक्ष्मी स्मृति पुरस्कार शिक्षासेवी चतुरमानलाई
संविधान दिवसमा एमाले गण्डकीको “संचारकर्मीसंग नेकपा (एमाले)“ कार्यक्रम
कुँडहर सहकारीको अध्यक्षमा विश्वबन्धु
पोखरा महानगरपालिकाका ४८ जना नगर प्रहरीहरू दीक्षित