प्रतिनिधिसभाको सातौँ अधिवेशन शुरु, उत्साह कम, कौतुहलता बढी

रासस
फागुन २३, २०७७
parliament

–नारायण न्यौपाने/विक्रम गिरी

काठमाडौँ, २३ फागुन (रासस) ।पाँच वर्षे कार्यकाल भएर पनि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको विवादका कारण तीन वर्षमै विघटन भएको प्रतिनिधिसभाको बैठक सर्वाेच्च अदालतको आदेशपछि आजदेखि शुरु भएको छ ।

सरकारको नेतृत्व गरिरहेको नेकपाभित्र आधिकारिकताको विवाद उत्कर्षमा पुगिरहेको बेला शुरु भएको प्रतिनिधिसभाको सातौँ अधिवेशनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जगत्बाट कौतुहलताका साथ हेरिएको छ ।

सरकारको प्रतिनिधिसभा विघटन गरी निर्वाचनमा जाने निर्णयलाई बदर गर्दै अदालतले फागुन ११ गते १३ दिनभित्र अधिवेशन बोलाउन निर्देशनात्मक आदेश जारी गरेको थियो । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी हुन् ।

निर्धारित समयभन्दा अपराह्न ४ बजेभन्दा एक घण्टा १० मिनेट ढिला शुरु भएको बैठकको प्रारम्भमा सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभाको अधिवेशन आह्वानसम्बन्धी राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र बाचन गरेर सुनाउनुका साथै सांसदलाई स्वागत गरेका थिए ।

प्रतिनिधिसभाको छैटौँ अधिवेशन गत असार १७ गते अन्त्य भएको थियो । सङ्घीय संसद्को वर्षे र हिउँदे अधिवेशनबीच ६ महिनाभन्दा बढी समय खाली हुन नहुने संवैधानिक व्यवस्था छ । राष्ट्र र जनताका जल्दा बल्दा विषयलाई गम्भिरताका साथ उठाएर सरकारको ध्यानाकर्षण गराउने मुख्य जनप्रतिनिधि मूलक थलोका रुपमा रहेको प्रतिनिधिसभालाई तल्लो सदनका रुपमा लिइन्छ ।

कोभिड–१९ का कारण अधिवेशन सञ्चालन गर्न अपनाउनुपर्ने स्वास्थ्य मापदण्ड, प्राविधिक तथा भौतिक पूर्वाधार व्यवस्थापनको पूर्ण तयारी गरी बैठक सञ्चालनमा ल्याइएको छ । अधिवेशनका सन्दर्भमा प्रत्यक्ष सहभागी हुनेका लागि सङ्कघीय संसद् सचिवालयले व्यवस्थापन गरेको कोभिड–१९ विरुद्धको खोप कार्यक्रममा २५५ सांसदसहित एक हजार २३९ जना सहभागी थिए । कोभिड–१९ सङ्क्रमणको जोखिमलाई मध्यनजर गरी सचिवालयले भौतिक दुरी कायम हुने ढङ्गले सभाकक्षको व्यवस्थापन गरेको छ ।

नेकपाभित्रको विवाद पार्टीको आधिकारितासँग जोडिन पुगेपछि पछिल्लो समय एउटा पक्षले अर्काे पक्षका नेतालाई निलम्बनदेखि साधारण सदस्यसमेत नरहने गरी कारवाही गर्ने क्रम चलेको छ । सोही क्रममा दाहाल–नेपाल समूहले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई संसदीय दलको नेतामा चयन गरेको छ । नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पनि संसदीय दलका यसअघिका प्रमुख सचेतक देवप्रसाद गुरुङलाई हटाएर सांसद् विशाल भट्टराईलाई सो जिम्मेवारी दिएका छन् । यद्यपि आजसम्म नेकपाको औपचारिक विभाजन भने भएको छैन ।

नेकपाको दाहाल–नेपाल समूहले अध्यक्ष दाहाललाई संसदीय दलको नेता चयन गरेको पत्र संसद् सचिवालयका महासचिव डा भरतराज गौतमलाई बुझाएको थियो । प्रतिनिधिसभामा नेकपाका सभामुुखसहित १७३, नेपाली कांग्रेसका ६१, जनता समाजवादी पार्टी (जसपा) का ३२ सांसदको प्रतिनिधित्व छ । नेकपाका सानु शिवाको निधनपछि एउटा पद रिक्त छ भने कांग्रेस र जसपाका दुई दुई सांसद अदालतको आदेशानुसार निलम्बनमा छन् ।

विधेयक अधिवेशनका रुपमा रहने यो हिँउदे अधिवेशनले प्रतिनिधिसभामा विचाराधीन रहेको ३८ विधेयकलाई अघि बढाउन सक्ने कार्यदेश छ । राष्ट्रिय जनमोर्चा, राष्ट्रिय प्रजातन्त्र पार्टी र नेपाल मजदूर किसान पार्टीका एक–एक तथा हुम्लाबाट प्रतिनिधित्व गर्ने छक्कबहादुर लामा स्वतन्त्र सांसदका हैसियतमा प्रतिनिधिसभामा छन् ।

प्रतिनिधिसभा भूगोल र जनसङ्ख्याका आधारमा कायम गरिएको निर्वाचन क्षेत्रबाट पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीद्वारा निर्वाचित १६५ तथा समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित ११० जना रहने व्यवस्था छ । हिउँदे सरकारले दिने ‘बिजनेस’ र सदनका गतिविधिका आधारमा कति समय चल्छ भन्ने निर्धारण हुनेछ ।

अधिवेशन प्रारम्भ हुँदा निकै उत्साहका साथ सभाकक्षमा प्रवेश गर्ने गरेकामा यसपटक भने नेकपाभित्रको विवादका कारण सांसद्मा त्यो हौसला र उत्साहभन्दा कौतुहलता बोकेको देखिन्थ्यो । राष्ट्रिय गीतबाट प्रारम्भ भएको बैठकमा लोकतन्त्रका लागि जीवन आहुती दिने ज्ञात अज्ञात शहीदको सम्मानमा मौनधारण, राष्ट्रपति कार्यालयबाट अधिवेशन आह्वान र मन्त्रिपरिषद् गठन सम्वन्धी पत्र बाचन गरेर सुनाइयो ।

Related News

सम्बन्धित समाचार

  • राष्ट्रपति पौडेल र कतारका अमिरबीच भेटवार्ता

    राष्ट्र न्यूज सम्वाददाता वैशाख ११, २०८१
    काठमाडौँ ,११ वैशाख । राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनबाट पृथ्वीलाई सुरक्षित राख्ने, हिमाललाई जोगाउने, पानीको स्रोत बचाउने र वातावरण सन्तुलन…
  • महोत्सवमा आलु किन्नेको भिड

    राष्ट्र न्यूज सम्वाददाता चैत्र २८, २०८०
    पोखरा, २८ चैत । १२ औं राष्ट्रिय हेमजा आलु महोत्सवमा आलु किन्नेहरुको संख्यामा हवात्तै बृद्धि भएको छ । बुधवारसम्म करिव…
  • घान्द्रुक पर्यटन महोत्सव सुरु

    राष्ट्र न्यूज सम्वाददाता चैत्र २७, २०८०
    पोखरा, २७ चैत । कास्कीको अन्नपूर्ण गाउँपालिका–१०÷११ घान्द्रुकमा ‘पर्यटन महोत्सव’ सुरु भएको छ । ‘सबै मौसममा पर्यटन’ भन्ने नारासहित आजदेखि…
  • वण्डरल्याण्ड र सान्दीपन प्रि–स्कूलमा दिक्षान्त समारोह

    राष्ट्र न्यूज सम्वाददाता चैत्र २६, २०८०
    पोखरा, २६ चैत । पोखरा महानगरपालिका वडा नं ६ जरेवरस्थित वण्डरल्याण्ड डेकेयर तथा प्रि–स्कूल र पोखरा – १३ सिग्देलमार्ग स्थित…
  • आलु महोत्सव सुरु

    राष्ट्र न्यूज सम्वाददाता चैत्र २५, २०८०
    पोखरा, २५ चैत । १२ औं संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सव आइतवारदेखि सुरु भएको छ। ‘सुन्दर ठाउँ हेमजा जाउँः आलुका…

Archives

Archives