रुकुमपूर्व, १५ फागुन (रासस) । रुकुमपूर्वको सिस्ने गाउँपालिका– २ मा दुई दिनदेखि लागेको डढेलो नियन्त्रण बाहिर गएको छ ।
बिहीबारदेखि शुरुआत भएको डढेलो नियन्त्रण बाहिर गएपछि त्यहाँका दर्जन बढीबस्ती जोखिममा परेका छन् ।
सिस्ने– २ को प्वाङस्थित कुरिपानीबाट शुरु भएको डढेलो आज बिहानसम्म धेरै ठाउँमा फैलिसकेको छ । कुरिपानी सामुदायिक वनबाट सल्किएको आगो कसरी सल्कियो भन्ने पत्ता भने लाग्न सकेको छैन । सिस्ने– २ का वडाध्यक्ष जीवन केसीले विद्यालयबाट फर्कदै गरेका बालबालिकाले आगो लगाएको बताए ।
उक्त डढेलोबाट तीन वटा घर दर्जन बढी गोठ जलेर नष्ट भएको उनले जानकारी दिए । उनका अनुसार डढेलोले दतकुना, कुचिबाङ, गोल्खाडा, सुद्रीलगायतका बस्तीमा आगो फैलिएको छ । डढेलो नियन्त्रणमा इलाका प्रहरी कार्यालय प्वाङ र स्थानीय लागि परेका छन् । आगो धेरैतिर फैलिएकाले नियन्त्रणको सम्भावना न्यून छ ।
डढेलोबाट केही घरगोठ जलेर नष्ट भएको खबर प्राप्त भएको प्रमुख जिल्ला अधिकारी राजकुमार राईले बताए । डढेलो नियन्त्रणमा नआएपछि जिल्ला सुरक्षा समितिको बैठकसमेत बसेको छ ।
बैठकले डढेलो नियन्त्रणमा नआएसम्म आआफ्नो सूचनालाई अद्यावधिक गर्ने र क्युआरटी, आइआरटी टोली परिरचालन गर्ने निर्णय गरेको प्रजिअ राईले बताए । अहिलेसम्म मानवीय क्षति भने भएको छैन । डढेलो नियन्त्रण बाहिर गएपछि नागरिक भने त्रसित छन् ।
Related News
सम्बन्धित समाचार
आगामी वर्षका लागि १७ खर्ब, ५१ अर्बको बजेट
यूएसए, इजिप्ट र पाकिस्तान बने ‘बेस्ट डेलिगेट’
पोखरामा राष्ट्र संघको नमुना महासभा हुने
लागू औषधसहित तीन जना पक्राउ
रेडियो हेमजा एघारौं वर्षमा