बझाङ, १३ फागुन (रासस) । विद्यार्थी र शिक्षक एकाएक बिरामी पर्न थालेपछि बझाङको साइपाल गाउँपालिका–४ मा रहेको धुली माध्यमिक विद्यालय केही दिनका लागि बन्द गरिएको छ ।
करिब एक हप्तादेखि विद्यार्थी र शिक्षक एकाएक कोरोनाको जस्तै लक्षणसहित बिरामी पर्न थालेपछि विद्यालय बन्द गरिएको हो । बिरामी विद्यार्थी र शिक्षकमा खोकी लाग्ने, ज्वरो आउने, घाँटी दुख्ने, वाकवाकी लाग्ने र घोरिरहनेजस्ता लक्षण देखिएको धुली माविका सहायक प्रधानाध्यापक धनबहादुर विष्ट भोटेले बताए ।
विद्यालयमा कक्षा ६ देखि ९ सम्मका विद्यार्थी र केही शिक्षकमा यस्ता लक्षण देखिएका छन् । एक हप्तासम्म औषधोपचार गर्दा पनि बिरामी विद्यार्थी र शिक्षकलाई ठीक नभएपछि बुधबार बसेको विद्यालय व्यवस्थापन समितिको बैठकले विद्यालय बन्द गरेको हो ।
दुई सय ४५ विद्यार्थी र ११ शिक्षक रहेको धुली माविले नजिकै रहेको धुली सामुदायिक स्वास्थ्य केन्द्रबाट उपचार गर्न खोजे पनि बिरामीमा कुनै परिवर्तन नआएको समेत प्रधानाध्यापक विष्ट भोटेले बताए ।
साथै केही दिन अगाडि मात्र धलौनमा रहेको धलौन माविका विद्यार्थी र शिक्षकमा पनि यस्तो लक्षण देखा परेको र शिक्षक र विद्यार्थीलाई उक्त लक्षण सरेकाले चार दिनसम्म बन्द गरिएको थियो । उपचार गरी ठीक भएपछि अहिले विद्यालय सञ्चालनमा आएको स्थानीय वसन्त बोहोराले बताए ।
Related News
सम्बन्धित समाचार
भूकम्पका कारण एकको मृत्यु, दर्जनौ घरमा क्षति
कास्की काँग्रेसद्वारा निर्वाचित विद्यार्थीलाई सम्मान
व्यवसायी शर्मा सम्मानित
पोउवा संघ र मणिपाल अस्पतालबीच स्वास्थ्य सेवा सम्झौता, संघका सदस्यलाई विशेष छुट
पोखरा महोत्सवमा निःशुल्क स्वास्थ्य जांच