काठमाडौँ — कोरोना संक्रमितको उपचारमा संलग्न देशभरका स्वास्थ्यकर्मी सरकारले तोकेको जोखिम भत्तासमेत नपाएको भन्दै आन्दोलनमा छन् । स्वास्थ्य मन्त्रालयका पदाधिकारी र कर्मचारीले भने कोरोना अवधिमा काम गरेको भन्दै मनग्ये भत्ता लिएका छन् ।
मन्त्रालयका कर्मचारीले २०७६ चैतदेखि २०७७ कात्तिकसम्मको जोखिम भत्ता लिइसकेका छन् । प्रायः कर्मचारीले प्रत्येक दिनको भत्ता लिएका छन् । त्यसरी जोखिम भत्ता लिनेले त्यही दिनको बैठक भत्तासमेत बुझेका छन् । काजमा जानेले भ्रमण भत्ता लिएका छन् ।
स्वास्थ्य संस्था, सञ्चालन तथा स्तरोन्नति मापदण्डसम्बन्धी निर्देशिका २०७० लाई संशोधन गर्न गठित समितिको असार १३ देखि २४ सम्म १२ वटा बैठक बसेको थियो । ती बैठकमा उपस्थित भएको भन्दै डा. विकास देवकोटा, मुक्तिनाथ न्यौपाने, सानुबाबु अधिकारी, पुष्करराज नेपाल, पानबहादुर क्षत्री, किशोर श्रेष्ठ, मुना शर्मा, प्रकाश पोखरेल, विजयक्रान्ति शाक्य, दीपक महर्जन, सन्तोष सुवेदी र उत्तमकुमार श्रेष्ठले १ हजार ५ सयका दरले भत्ता लिएका छन् ।
बैठक भत्ता लिएकाहरूले त्यही दिनको जोखिम भत्ता पनि लिएका छन् । काज भ्रमणमा जाने कर्मचारीले पनि भ्रमण र जोखिम दुवै भत्ता थापेका छन् ।
यही प्रकृतिको बारम्बार बैठक राखेर भत्ता लिने अर्को समिति हो– स्वास्थ्य संस्थाको तहगत संरचना र तिनले प्रदान गर्ने सेवा प्रवाह, मापदण्डलगायतको विषय तय गर्न गठित समिति । यो समितिले पनि असारमा ९ वटा बैठक राखेर हरेकले २ हजारका दरले भत्ता लिएका छन् । यसरी एउटै विषयमा पटक–पटक बैठक राखेर भत्ता लिनेमा डा. रोशन पोखरेल, रघुराम बिष्ट, डा. गुणराज लोहनी, डा. विकास देवकोटा, डा. जागेश्वर गौतम, डा. तारानाथ पोखरेललगायत छन् ।
आजको कान्तिपुर दैनिकमा मकर श्रेष्ठले लेखेको समाचार ।
Related News
सम्बन्धित समाचार
हावाहुरी र चट्याङ : पाँचको मृत्यु, ११ घाइते
बस दुर्घटनाः पाँचको अवस्था जटिल, एक बेपत्ता
हावाहुरीको कारण मृत्यु हुने तीन जनाको सनाखत
जेठ १० गते सरकारको नीति तथा कार्यक्रम
पोखरा महानगरमा गठबन्धनका उम्मेदवारको अग्रता कायमै