भेन भित्रै मिनी हस्पिटल

राष्ट्र न्यूज सम्वाददाता
फागुन ८, २०७७
main 8

पोखरा, ८ फागुन । गण्डकी प्रदेशका ग्रामिण क्षेत्रका विपन्न वर्गलाई लक्षित गरी घुम्ती दन्त चिकित्सा सेवा संचालनमा ल्याइएको छ ।

नेलम्बो नेपालले दाँतको उपचार गर्न नसकेर छटपटाइ रहेकाहरुलाई सेवा दिन भेन भित्रै मिनी दन्त हस्पिटल संचालन गरी सेवा सुरु गरेको हो ।

सो सेवा अन्तर्गत बिरामीको दाँतको उपचार गरी निःशुल्क औंषधी उपलब्ध गराइने छ ।ग्रामिण क्षेत्रसँगै सामुदायिक विद्यालयका विद्यार्थीलाई पनि सेवा दिने योजना गरेको छ ।

भेन भित्र नै एक्सरे, प्यासेन्ट मनिटर, डेन्टल चेयरलगायत दन्त उपचारका लागि आवश्यक सबै उपकरणहरु जडान गरिएको छ ।भेन भित्रै दाँत भर्ने, आरसिटी, एक्सरे, स्क्रिनिङ गरिन्छ । भेनसहित उपकरणका लागि संस्थाले ६८ लाख रुपैयाँ लगानी गरेको छ ।

नेलम्बोले असार मसान्तसम्म कास्कीका चार वटै गाउँपालिकामा सेवा उपलब्ध गराउने जनाएको छ । दाँतको उपचार महंगो भएका कारण उपचारबाट बञ्चित वर्ग सेवाबाट लाभान्वित हुने नेलम्बो नेपालका अध्यक्ष एकदेव देवकोटाको भनाइ छ ।

शुक्रबार पोखरा २६ स्थित सिर्जना बहिरा आवासिय माविबाट सेवा शुभारम्भ गरिएको छ । १३ गतेसम्म विद्यालयका एक सय ७७ विद्यार्थीको दन्त परीक्षण गरिने छ ।

नेलम्बोले शिक्षा, स्वास्थ्य, वातावरणसँगै विपद्का बेला सहयोग कार्यक्रम संचालन गर्दै आइरहेको जनसम्पर्क अधिकृत भिम भण्डारीले जानकारी दिए ।

सेवा शुभारम्भ गर्दै गण्डकी प्रदेश स्वास्थ्य प्रमुख विनोद विन्दु शर्माले नेलम्बोले अप्ठ्यारो ठाउँमा पुगेर असहज परिस्थितिमा रहेका नागरिकलाई सहयोग गर्ने गरेको उल्लेख गरे ।

कार्यक्रममा पोखरा २६ का वडा अध्यक्ष नारायणप्रसाद बराल, राष्ट्रिय बहिरा महासंघ गण्डकी प्रदेश अध्यक्ष राजेन्द्रप्रसाद शर्मा, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ऋषिराम पौडेल, प्राचार्य अनिता सिग्देल, गैर सरकारी संस्था महासंघ कास्की सचिव डा. वुद्विबहादुर थापा, दन्त चिकित्सक रोशन केसी, पत्रकारहरु नवीन सिग्देल, रामप्रसाद तिमिल्सिना, दिल तमु र दिपेन्द्र पहारीले बोलेका थिए ।

कार्यक्रम नेलम्बो नेपाला अध्यक्ष एकदेव देवकोटाको अध्यक्षतामा भएको थियो ।

Related News

सम्बन्धित समाचार