पोखरा महानगरपालिका अनियमितताको अखडा भएको वडाध्यक्षको ठहर, काँग्रेसबाट निर्वाचित वडाध्यक्षद्वारा विरोध

राष्ट्र न्यूज सम्वाददाता
श्रावण १२, २०७७
pressmeet

 पोखरा, १२ साउन । पोखरा महानगरपालिकामा काँग्रेसबाट निर्वाचित वडाध्यक्षहरुले महानगरपालिका अनियमितताको अखडा भएको भन्दै असन्तुष्टि जनाएका छन् ।

पोखरामा सोमबार पत्रकार सम्मेलन गरी काँग्रेस सचेतक एवं पोखरा ९ का वडाध्यक्ष रामराज लामिछानेले महानगरपालिका अनियमितताको अखडा बनेको भन्दै आपत्ती जनाए ।

उनले विभिन्न विषयमा १२ बुँदा सहितको सुझावसहित महानगरलाई ध्यानाकर्षण गराएपनि बेवास्ता गरिएको बताए ।

निर्वाचनपछि पहिलो वर्ष पर्ख र हेरको अवस्थामा आफूहरु रहेकोमा दोस्रो वर्ष महानगरपालिकालाई राम्रोसँग संचालन गर्दै ‘हाम्रो र राम्रो महानगर’ बनाउन विभिन्न चरणमा धेरै सुझाव दिएको भएपनि कार्यान्वयन हुन नसकेको उनको भनाइ छ ।

महानगरपालिकाको कामकारबाहीमा विभिन्न विकासका योजना तथा ठेक्का सम्झौतामा एकलौटी गरेको, आफ्नै कार्यकर्ता पोस्ने काम गरेको, विभिन्न घाटहरुको ठेक्का सम्झौतामाअनियमितता गरेको, महानगर स्वामित्वका भवनहरुको घरभाडा आर्थिक चलखेल गरेको, पार्किङ ठेक्कावापतको रकम अझै असुल नगरेको, बैंक ग्यारेन्टी नराखेको काँग्रेसबाट प्रतिनिधित्व गर्ने वडाध्यक्षको भनाइ छ ।

वडाध्यक्ष लामिछानेका अनुसार पोखरा रामघाटको ठेक्का सम्झौता गर्दा राजी कन्ट्रक्सनसँग प्रचलित कानुन एवं प्रकाशित सूचना विपरीत हुने गरी ३ करोड ५ लाख बराबरको रकम बैंक ग्यारेन्टी एवं नगद २ साताभित्र जम्मा गर्ने गरी सम्झौता भएकोमा रकम जम्मा एवं बैंक ग्यारेन्टी पेस नगरी अनियमितता भएको छ ।

यस्तै, जनप्रतिनिधि आउनुअघि बेरुजु करीब २३ करोड भएकोमा हाल कुल बेरुजु १ अर्ब २६ करोड हुन गएको, पोखराको सिर्जनाचोकस्थित महानगरको भवन ७६ लाख पर्ने गरी भाडामा  ठेक्का दिइएकोमा सो बापत हालसम्म १ करोड ८६ हजार अझै असुल गर्न नसकेको, मालपोत कार्यालयअघि महानगरको सटर विगतमा २५ हजार मासिक भाडा दिइदैआएकोमा हाल मात्र १०÷१२ हजारमै सम्झौता गरी आर्थिक हिनामिना गरिएको बताइएको छ ।

विज्ञापन करवापतको सम्झौता कायमै रहेको अवस्थामा घुमाउरो पारामा उही ठेकेदारलाई नै सहयोग पुग्ने गरी शर्तहरु राखी ठेक्का दिइएको र रकम असुल उपर नभएको पाइएको छ ।

महानगरपालिकाका कुल ३३ वटामध्ये ११ वटा वडामा काँग्रेसबाट निर्वाचित वडाध्यक्ष छन् ।काँग्रेसबाट पोखरा ९ मा रामराज लामिछाने, पोखरा २ मा रामेश्वर मल्ल, ३ मा रवीन्द्रबहादुर प्रजु, पोखरा ४ मा शंकर बास्तोला, ६ मा जगतबहादुर पहारी, १० मा राजकुमार गुरुङ, ११ का मोहनप्रसाद बास्तोला, १२ मा रामबहादुर कार्की, २३मा विष्णुप्रसाद पराजुली, २७ मा पूर्णकुमार गुरुङ र ३२ का अक्कलबहादुर कार्की निर्वाचित वडाध्यक्ष हुन् ।

Related News

सम्बन्धित समाचार

Archives

Archives