पोखरा, २३ असार । प्रजातन्त्र सेनानी स्व.नारायणदत्त रानाभाटकी धर्मपत्नी, काँग्रेस पूर्व महामन्त्री एवं पूर्व सभामुख तारानाथ रानाभाट र कास्की काँग्रेस सचिव देवेन्द्र रानाभाटकी ममतामयी माता खिमकुमारी रानाभाटको एक सय वर्षको उमेरमा निधन भएको छ ।
लामो समयदेखि बिरामी रहेकी उनको मङ्गलबार बिहान पोखरा २६ स्थित आफ्नै निवासमा निधन भएको थियो । उनका चार छोरा र दुई छोरी छन् ।
तारानाथ रानाभाट, देवेन्द्र रानाभाटसहित खिलेन्द्र रानाभाट र सुरेन्द्र रानाभाट छोरा हुन्। खिमादेवी रानाभाट र शोभाकुमारी रानाभाट छोरी हुन् ।
स्व. रानाभाटको मङ्गलबार नै सेती नदी किनारमा अन्त्येष्टि गरिएको छ ।
उनको पार्थिव शरीरमा नेपाली काँग्रेस गण्डकी प्रदेशसभा प्रतिपक्ष दलका नेता कृष्णचन्द्र नेपाली, कास्की काँग्रेसका सभापति कृष्ण केसी, पूर्व मन्त्री यज्ञबहादुर थापा, नेता सोभियतबहादुर अधिकारी, गण्डकी प्रदेश सभा सदस्य चिन्ता घले, महासमिति सदस्य गिरिराज गौतम, काँग्रेस क्षेत्र नं १ का सभापति वृजमान गुरुङ, पोखरा महानगर सभापति बजिरमान श्रेष्ठलगायतले पार्टीले चार तारे झण्डा ओढाएर अन्तिम श्रद्वाञ्जली अर्पण गरेका थिए ।
शवयात्रामा काँग्रेस नेता तथा कार्यकर्ता, शुभेच्छुक, समाजसेवी, व्यवसायी, आफन्तलगायतको बाक्लो उपस्थिति रहेको थियो ।
नेपाली काँग्रेसको विकास, विस्तारसँगै प्रजातान्त्रिक आन्दोलनमा रानाभाट परिवारको उल्लेख्य योगदान रहदै आएको कास्की काँग्रेस प्रवत्ता नवीन सिग्देलले बताए ।
यसैबीच नेपाली काँग्रेस कास्कीले शोक विज्ञप्ति प्रकाशित गरी रानाभाटको निधनप्रति दुःख व्यक्त गरेको छ ।
कास्की काँग्रेस सभापति कृष्ण केसीद्वारा जारी विज्ञप्तिमा दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना व्यक्त गरिएको छ ।
Related News
सम्बन्धित समाचार
शिवशक्ति क्याम्पसको ३१ औं वार्षिकोत्सव तथा १५ औं साधारण सभा
छ नम्बर वडावासिद्वारा महानगरलाई पाँच बुँदे ज्ञापनपत्र
दोलखा पोखरा मिलन समाजको अध्यक्षमा खड्का
दक्ष जनशक्ति उत्पादनका लागि होटल संघ र हेल्भेटासको सहकार्य
नेपाल विद्युत प्राधिकरणको वार्षिकोत्सवमा रक्तदान