‘खेमराजको इमान्दारिता नै चुनाव जित्न काफी छ’

राष्ट्र न्यूज सम्वाददाता
कार्तिक २७, २०७६
27

पोखरा, २७ कात्तिक । कास्की क्षेत्र नं. २ का कांग्रेस उम्मेदवार खेमराज पौडेलले आफ्नो प्रतिस्पर्धा विद्या भट्टराईसंग नभइ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संग भएको बताएका छन् ।

पोखरा छोरेपाटनका मतदातासंगको भेटघाटमा सक्रिय पौडेलले यस्तो बताएका हुन् । उम्मेदवार पौडेलले भने, ‘मेरो चुनावी प्रतिस्पर्धा विद्यासंग होइन, नेपाल कम्युनिष्ट पार्टीसंग मात्र हो ।’

उम्मेदवार पौडेलले आफूले ६० वर्षको राजनीतिक यात्रामा अहिलेसम्म कसैमाथि केही अन्याय नगरेको स्पष्ट पारे । ‘अब पनि जनतामाथि  कत्ति पनि अन्याय हुने काम गर्न मेरो स्वाभिमानले दिंदैन’, उनले भने ।

चुनावी अभियान सशक्त ढंगले अघि बढको भन्दै उम्मेदवार पौडेलले यो चुनावमा सिंगो नेपाली कांग्रेस केन्द्रदेखि जिल्ला हुँदै तल्ला समिति एकढिक्का भएको भन्दै खुशी प्रकट गरे । ‘पार्टीका नेता कार्यकर्ताको उत्साहले मलाई नै उर्जा थपेको छ, ममाथि मेरा विद्यार्थी, मेरा समकक्षी लगायत सबैको सहानुभूति र माया छ ।’ आफ्नो उम्मेदवारीले पार्टीमा, जनतामा र अन्य दलहरूमा पनि सकारात्मक सन्देश प्रवाह भएको उनले बताए ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र उक्त पार्टीद्वारा सञ्चालित सरकार जुन ढंगले बढ्नुपर्ने हो, जनताको मर्म र भावना अनुसार अघि बढ्न नसकेको उनले बताए ।  उनले भने, ‘सरकारले जनताको घरघरमा ग्यास पाइप, रेल, पानी जहाज जस्ता हावादारी कुरा गरेर अघि बढ्दा जनतामा निराशा छाएको छ, जनताले कम्युनिष्ट सरकारको रवैया बुझिसकेका छन्, त्यसैले यो पार्टीको विकल्प खोजिरहेका छन् उनले भने ।

नेकपाप्रति सामाजिक, राजनीतिक र प्रशासनिक लगायत कुनै पनि क्षेत्रमा सन्तुष्ट हुने ठाउँ नभएको उम्मेदवार पौडेलले बताए । उनले राजनीतिक लगाव, इमान्दारिता, आस्था, संस्कार र संस्कृति बुझेर मत दिन आग्रह गरे ।

उम्मेदवार खेमराजले आफूले पद प्राप्तिका लागि भन्दा पनि जनताको सेवा गर्नकै लागि चुनावमा होमिएको बताए । ‘पार्टीले दिएको जिम्मेवारी र जनताको आशा भरोषालाई कत्ति पनि तलमाथि हुन दिन्न’, उनले भने ।

कांग्रेस वडासभापति देवराज आचार्यले खेमराज पौडेलले चुनाव नजित्ने कुनै कारण नभएको बताए । उनले भने, मतदाता उत्साहित छन्, पार्टीका सबै संयन्त्र सक्रिय छ, सबै मतदाता भेटेर समस्या बुझ्ने र पार्टीको आफ्नो धारणा राखेका छौं।’

उनले उम्मेदवार खेमराजको व्यक्तिगत इमान्दारिता, पार्टीगत निष्ठा र त्यागका साथै धर्म, संस्कार र संस्कृति संरक्षणमा खेलेको भूमिका नै चुनाव जित्ने आधार भएको बताए । ‘खेमराजको व्यक्तिगत इमान्दारिताले नै चुनाव जित्न काफी छ भने पार्टीप्रति जनताको विश्वासले झनै बलियो बनाएको छ’ उनले भने ।

घरदैलो अब दोस्रो चरणमा
नेपाली कांग्रेस कास्कीको चुनावी अभियान अन्तर्गतका पहिलो चरणको कार्यक्रम सकिएको छ । कांग्रेसले बिहीबारदेखि दोस्रो चरणको अभियान शुरु गर्दैछ ।

पहिलो चरणको कार्यक्रम अन्तर्गत केही वडामा बाहेक अधिकांशमा घरदैलो कार्यक्रम सकिएको चुनाव प्रचार समितिका मूल संयोजक एवं कास्की कांग्रेसका सभापति कृष्ण केसीले जानकारी दिए ।

उनका अनुसार दोस्रो चरणको कार्यक्रम अन्तर्गत बाँकी वडामा घरदैलो सक्ने र पुनः घरदैलो दोहोर्याउने कार्यक्रम छ ।
पार्टीका सबै संयन्त्रलाई सक्रिय बनाएर मतदाता समक्ष पठाएका छौं । अबको २÷३ दिनमा सबै संगठनका संयोजकसंग बैठक बसेर मतादाताको गुनासो र सुझाव बारे छलफल गर्छौं । त्यसपछि पार्टीको धारणा लिएर पुनः मतदाता समक्ष नै पठाउँछौं, सभापति केसीले भने ।

उनले आफ्ना कुरा निर्धक्कसंग राख्न मतदातासंग आग्रह समेत गरेका छन् । ‘मतदाताका गुनासा र सुझाव हाम्रा लागि अमूल्य हुनेछन् । कांग्रेस जनताकै पार्टी हो र जनताकै भावना अनुरुप अघि बढ्न तयार छ । त्यसैले मतदाताले आफ्नै पार्टी सम्झिएर भन्दा हुन्छ,’ सभापति केसीले भने ।

घरदैलो अभियान जारी
कांग्रेस उम्मेदवार खेमराज पौडेल मंगलबार र बुधबार पोखरा–१७ का मतदाता भेट्न र मत माग्न व्यस्त रहे । यस क्षेत्रमा उनको अभियान अझै सकिएको छैन । बिहीबारबाट उनी पोखरा–२० तर्फ लाग्दैछन् ।

वडा नं. १७ मा बाँकी रहेका मतदातालाई पुनः समय मिलाएर भेट्ने तयारी गरेका छन् । ‘पोखरा–१७ निकै ठूलो छ, १÷२ दिनले केही पनि हुँदैन । दोस्रो चरणमा समय मिलाएर बाँकी मतदाता भेट्छु, उनले भने ।

पोखरा–१७ उनको छिमेकी वडामात्र होइन, उनको गाउँ पुम्दीभुम्दीका अधिकांशको बसोबार यसै क्षेत्रमा छ । त्यसैले पनि उनी प्रत्येकको घरमा पुग्ने प्रयत्न गर्दैछन् । कास्की कांग्रेसले पनि सभापति केसीलाई नै यस क्षेत्रमा खटाएको छ । सभापति केसी पनि ठूलो वडामा चुनाव जित्न सकिए राहत हुने भएकाले यस क्षेत्रमा निकै खटिएका छन् ।

‘कतै खानेपानी, कतै बाटो, कतै पुल लगायतका समस्या आफूहरुसंग मतदाताले राखेका छन्, ती समस्या सुन्नेमात्र होइन समाधानका लागि पनि प्रयत्न गर्नेछौं, सभापति केसीले भने ।

यता, पोखरा ४ मा पनि घरदैलो अभियान अन्तिम चरणमा पुगेको छ । चुनाव प्रचार समितिका उपसंयोजक एवं कास्की कांग्रेसकी कोषाध्यक्ष लक्ष्मी पाण्डेका अनुसार पोखरा–४ मा घरदैलो अभियान लगभग सकिएको छ । ‘प्रत्येक मतदाताका घरघरमा पुग्ने काम भइरहेको छ । यो कार्यलाई दोस्रो चरणमा पनि निरन्तरता दिनेछौं, उनले भनिन् । यो क्षेत्रमा कास्की कांग्रेसले यज्ञबहादुर थापालाई खटाएको छ ।

पोखरा–१५ मा ५ दिनदेखि निरन्तर रुपमा खटिरहेकी छन् सांसद विन्दादेवी राना पनि । उनले यस वटाको कमाण्डिङ गरिरहेकी छन् । वडाभित्र ६ वटा क्षेत्र छुट्याएर प्रत्येक घरमा पुग्ने काम भइरहेको र अझै केही बाँकी रहेको उनले बताइन् ।
‘मतदातासंग भेट्दा निकै राम्रो उत्साह पाएका छौं । जनताले कम्युनिष्ट सरकारप्रति निकै गुनासो गरेका छन् । ती गुनासोको संवोधन कांग्रेसले गर्नुपर्छ अब, उनले भनिन् । अब उम्मेदवारसहितको घरदैलो अभियानलाई थप विशेष बनाउने संयोजक रानाको लक्ष्य छ ।

यता, कांग्रेसका केन्द्रीय सदस्य जीवन परियारले पनि ५ दिनदेखि पोखरा ३३ छाडेका छैनन् । उनी लगायत उनको टिमले मतदाता भेटघाट र छलफललाई तीव्रता दिएको छ । यो वडामा पनि पार्टीका सबै संयन्त्रलाई क्रियाशील बनाइएको संयोजक परियारले जानकारी दिए ।

‘५ वटा कलष्टर र ५ वटै वुथ केन्द्रित सम्पर्क कार्यालय पनि स्थापना गरेका छौं । पार्टीका सबै संयन्त्र परिचालन गरेका छौं, उनले भने, ‘युवा भेट्न तरुण दललाई पठाएका छौं, महिला भेट्न महिला संघका नेता कार्यकर्ता र विद्यार्थी भेट्न नेविसंघलाई खटाएका छौं ।’

यता, पोखरा–२० मा मतदाता भेट्ने कार्यतालिका दोस्रो चरणमा पर्यो । यो क्षेत्रमा बिहीबार र शुक्रबार उम्मेदवार खेमराज पौडेल, पार्टीका केन्द्रीय सदस्य डा. मिनेन्द्र रिजाल, कास्की कमाण्डर कृष्ण केसी, सांसद एवं यो क्षेत्रका संयोजक विन्दुकुमार थापासहितको टोलीले घरदैलो गर्नेछन् ।

‘प्रत्येक मतादातालाई भेट्ने गरी तयारी गरेको छु, संयोजक थापाले भने, ‘२ दिन लगाएर भए पनि जनताका समस्या र गुनासा सुन्ने काम गर्छौ ।’ यो क्षेत्रमा पनि पार्टीका सबै संयन्त्र परिचालन गरेर चुनाव प्रचार गरिने उनले बताए ।

Related News

सम्बन्धित समाचार

Archives

Archives

Recent News

भर्खरै