विनाकसुर जेलमा, किन र कसरी भयो त्यस्तो ?

राष्ट्र न्यूज सम्वाददाता
पौष ८, २०७४
jail

रामचन्द्र नेपाल

८ पुस, मलेसिया । १३ महिनासम्मको अथक खोजीपछि मलेसियाको एउटा जेलमा भाइ त भेटिए, तर उनले दाइलाई चिनेनन् । जेलको चार दिवारभित्र रहेका आफ्नै सहोदर भाइलाई भेट्न पुगेका सिरहाका रामविहारी महतोका लागि त्यो क्षण हर्ष न विस्मातको बन्न पुग्यो ।

बेपत्ता भएका आफ्ना भाइ किशुनदेव महतो फेला पर्नु निकै ठूलो खुशीको कुरा थियो । तर, जब भाइको दिमागी हालत बिग्रिसकेको थाहा भयो, दाजुको मन खिन्न हुनु स्वाभाविकै हो । एकसाथ हुर्किएको आफ्नै भाइले नचिन्दा रामविहारी निराश भएर फर्किए ।

भाइ किशुनदेवको दिमागी हालत बिग्रिसकेको थियो । यही कारण बारम्बार नेपालबाट सोधखोज गरिरहेका आफन्तलाई पनि रामविहारीले भाइ फेला परेको खुशी बाँड्न सकेनन् ।

सिरहा लहानमा घर भएका ३७ वर्षीय किशुनदेव परिवारका चार दाजुभाइमध्येका साहिँला हुन् । करीब चार वर्षअघि रोजगारीको सिलसिलामा उनी मलेसिया आएका थिए ।

यसैगरी उनका लाजु रामविहारी पनि मलेसियामै कामदार थिए । किशुन देव क्वालालम्पुर विमानस्थलमा क्लिनरको काम गर्दथे भने दाजु रामविहारी पेनाङको एक गार्मेट कम्पनीमा । मलेसियामा भने दुई भाइको भेट भएको थिएन ।

नेपाली दुताबास, कम्पनी र विभिन्न संघ संस्थाको सहयोगमा गत बुधबार दुबै दाजुभाइ स्वदेश फर्किएका छन् ।

कसरी फसे किशुनदेव ?

किसुनदेव निरन्तर विमानस्थलमा क्लिनरको काम गरी दुःखसाथ कमाएको पैसा जोगाएर घर परिवारलाई पठाउँथे । परिवार पनि सन्तुष्ट नै थिए ।

एक दिनको कुरा हो, क्वालालम्पुर अन्तराष्ट्रिय विमानस्थलमा अध्यामनले छापा हान्यो । क्लिनरका रुपमा काम गर्ने कतिपय कामदार वैधानिक थिएनन् । वैधानिक भएकाहरु बचे, अवैधानिक चाँहि अध्यागमनको फन्दामा परे । तर, अवैधानिक नहुँदा नुहँदै पनि किशुनदेव परिबन्दमा परेर जेल जान बाध्य भए ।

किसुनदेवसँगै अन्य देशका श्रमिक पनि एयरपोर्टमा काम गर्थे । किसुनदेवसँगै काम गर्ने बंगलादेशी साथी अवैधानिक रहेछन् । ती बंगलादेशी साथीले चलाखीपूर्वक किसुनदेवको ड्रेस र कार्ड मागेछन् । आफू वैधानिक भएकाले साथीलाई आफ्नो ड्रेस र कार्ड दिँदा के नै फरक पर्ला र ? भन्ने किसुनदेवको सोच रहेछ । तर, त्यसमै उनी फसे ।

जव चेकिङ शुरु भयो, किशुनदेव र उनका बंगलादेशी साथी अलग–अलग स्थानमा थिए । राम्रोसँग मलाया र अंग्रेजीसमेत नजान्ने किसुनदेवलाई प्रहरीले वैधानिकताको प्रमाणपत्र देखाउन भन्यो । तर, उनीसँग त्योबेला साथमा कुनै प्रमाण थिएन । प्रमाण देखाउन नसकेपछि उनलाई ‘अवैधानिक’ ठहर गर्दै कारवाही प्रकृया थालियो ।

१३ महिनासम्म लापत्ता

परिवारसँग सम्पर्कविहीन भएपछि किशुनदेवका परिवार चिन्तित भए । उनीहरुले मलेसियाकै पेनाङमा रहेका उनका दाजु राम बिहारीलाई फोन गरेर भाइको खोजी गर्न ताकेता गरिरहे । मानिसहरुको त्यो भिडमा दाइले आफ्नो भाइलाई कसरी फेला पारुन् ? अर्कोतिर कम्पनीले उनलाई विदासमेत दिँदैनथ्यो । मेनपावर तथा अन्य निकायसँग पुग्ने आधारसमेत राम विहारीले पाएनन् । यही अन्योलवीच करीव १३ महिना बित्यो ।

नेपाली दुतावास मलेसियाले प्रत्येक महिनाजसो जेल र डिटेन्सन क्याम्पमा रहेका नेपाली श्रमिकको डाटा निकाल्ने गर्छ । आफैं पनि जेल र क्याम्पमा पुगेर बन्दी नेपालीलाई भेट्ने गर्छ । दुतावासमार्फत यसरी खोज्दा पनि किसुनदेव पत्ता लाग्न सकेनन् । भएछ के भने उनी पनि बंगलादेशी बन्दी भएकै ठाउँमा बस्न पुगेछन् ।

अन्ततः नेपाली दुतावासको अथक प्रयासपछि किसुनदेव मलेसियाको एक क्याम्पमा रहेको पत्ता लाग्यो । तर, धेरै ढीलो भइसकेको थियो । र, उनको अवस्था निकै नाजुक भैसकेको थियो । उनी कसैलाई पनि चिन्न सक्ने अवस्थामा थिएनन् ।

दुतावासले अनेकौं प्रयासपछि किसुनदेवलाई नेपाल पठाउने तयारी थाल्यो । दुई पटकसम्म सरकारी रकमवाट र एक पटक परिवारले टिकट उपलब्ध गराइदिए । तर, किसुनदेव त्यो ठाउँ छाडेर अन्यत्र जानै मानेनन् ।

जहाजमै होहल्ला

तीन पटकसम्म हवाई टिकट किनेर किसुनदेवलाई जहाजसम्म त पुर्‍याइयो, तर नेपाल पठाउन सकिएको थिएन । जहाजभित्र पस्नासाथ उनी निकै कराउँथे । हो-हल्ला गरेर तोडफोड गर्थे । अनि उनको यात्रा रोकिन्थ्यो ।

विमान नचढ्दासम्म उनी केही शान्त देखिन्थे । तर, जब विमानको सिटमा बस्थे, त्यसपछि चिच्याउन र मनपरी बोल्न थाल्थे । उनलाई सम्हाल्नै गाह्रो हुन्थ्यो ।

बल्ल बल्ल चौथोपटक गत बुधवार उनी नेपाल पुग्न सफल भएका छन् ।

यसरी भयो स्वदेश फिर्ती

नेपाली दुतावासको अथक प्रयास र सहोदर दाजुको सहयोगमा किसुनदेव स्वदेश फर्कन सफल भएका हुन् । किसुनदेवको उपचारका लागि नेपाली दुताबासले उनी बसेको क्याम्पलाई अनुरोध गरेको थियो । दुई महिनासम्म उनलाई अस्पताल भर्ना गरियो ।

अन्ततः स्वदेश फर्कने दिन उनले जहाजमा पनि कुनै बबाल मच्चाएनन् । शान्त रहे ।

दुतावासकै अनुरोधमा पेनाङगमा रहेका दाजु राम विहारीलाई उनी काम गर्ने कम्पनीले विदा पनि दियो । यति भएपछि दाजुकै जिम्मा लगाएर किसनदेवलाई स्वदेश फर्काउन सहज भयो ।

मलेसियास्थित गैरआवासीय नेपाली संघले किसुनदेवका लागि हवाइ टिकट उपलब्ध गराइदियो । र, किशुनदेव नेपाल फर्किए ।

घटदैछन् जेलमा नेपाली

विगतको तुलनामा अचेल मलेसियाको जेल र क्याम्पमा नेपालीको सख्यामा कमी आएको छ । अवैधानिक भएर बस्नुहुदैन भन्ने ज्ञान बढ्नु अनि स्वदेश फर्कन सरकारले डिसेम्वर महिनासम्म छुट दिनु नै यसका कारण हुन् ।

दूताबास स्रोतका अनुसार जेल पर्ने नेपालीहरुको संख्यामा कमी आएको छ । अहिले करीव करीव दुई सय जति नेपाली यहाँको जेलमा छन् भने दुई सयजति क्याम्पमा छन् । क्याम्पमा रहेका नेपाली पनि छिट्टै स्वदेश फर्किने तयारीमा छन् ।

कतिपयको पूरै विवरण नआएको र कतिपयको हवाई टिकट समयमै उपलब्ध हुन नसकेका कारण केही समय लागेको नेपाली दुतावासका द्वीतीय सचिव महेशमणि त्रिपाठीले जानकारी दिए ।

स्रोतः अनलाइनखबर

Related News

सम्बन्धित समाचार

Archives

Archives