निर्वाचन हारेका हस्तीहरु

राष्ट्र न्यूज सम्वाददाता
मंसिर २६, २०७४
Mao-Congress-Uml-flag-768×344-870×403

काठमाडौं- नेपाली कांग्रेसका अधिकांश प्रभावशाली नेता प्रतिनिधिसभा निर्वाचनमा पराजित भएका छन् ।

 निर्वाचनको अन्तिम परिणाम आउन बाँकी रहे पनि सभापति शेरबहादुर देउवा, महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंहबाहेक अन्य प्रभावशाली नेता पराजित भएका हुन् ।

पराजित हुनेमा पार्टी नेता रामचन्द्र पौडेल, पूर्वमहामन्त्रीद्वय विमलेन्द्र निधि र कृष्णप्रसाद सिटौला, पूर्वसहमहामन्त्रीहरु रामशरण महत, अर्जुननरसिंह केसी र पूर्णबहादुर खड्का पराजित भएका छन् ।

निधिबाहेक सबै नेता वाम गठबन्धनका उम्मेदवारबाट पराजित भएका हुन् । निधिलाई भने राष्ट्रिय जनता पार्टीका अध्यक्षमण्डलका सदस्य राजेन्द्र महतोले पराजित गरे । २०४८ सालदेखि निरन्तर निर्वाचन परिणाम आफ्नो पक्षमा पार्दै आएका नेता पौडेललाई एमाले नेताले पराजित गरेका हुन् ।

समानुपातिक सूचीको पहिलो नम्बरमा रहेको नाम हटाएर चुनावी प्रतिस्पर्धामा उत्रिएका सिटौलालाई राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्रीसमेत रहेका राजेन्द्र लिङ्देलले भारी मतान्तरले पराजित गरेका हुन् ।

राप्रपासँग चुनावी तालमेल गरेर जाने पार्टीको केन्द्रीय नीतिविपरीत सिटौला मैदानमा उत्रिएपछि त्यसको असर अन्य क्षेत्रमा समेत परेको कांग्रेस नेताहरुको गुनासो छ ।

त्यस्तै पार्टी राजनीतिमा मात्र नभएर राष्ट्रिय राजनीतिमा पनि भूमिका निर्वाह गर्न सक्ने विश्वप्रकाश शर्मा, नवीन्द्रराज जोशी, प्रदीप पौडेलसहितका युवा नेता पनि पराजित भएका छन् ।

प्रधानमन्त्री पत्नी आरजु राणा, केन्द्रीय सदस्यहरु महेश आचार्य, शेखर कोइराला, नारायणप्रसाद साउद, महालक्ष्मी उपाध्याय, अम्बिका बस्नेत, प्रकाशरण महत, दीपक गिरी, मोहनबहादुर बस्नेत, शंकर भण्डारीसहितका नेता पराजित भएका छन् । शेखर, नवीन्द्र, प्रदीपसहितका नेता हजारभन्दा कम मतान्तरले पराजित भए पनि अन्य नेताको मतान्तर भारी छ ।

पार्टी सभापति देउवा, महामन्त्री कोइराला, पूर्वमहामन्त्री सिंह, नेताहरु भीमसेनदास प्रधान, गगनकुमार थापा, राजेन्द्र केसी, भरतकुमार शाह जित दोहो¥याउन सफल भएका छन् । मीनेन्द्र रिजाल, मोहन आचार्य पनि निर्वाचित भएका छन् ।

त्यसैगरी वाम गठबन्धनका दुई ठूला हस्ती पनि पराजित हुन पुगेका छन् । वाम गठबन्धनको सूत्राधार मानिएका एमाले उपाध्यक्ष वामदेव गौतम र नारायणकाजी श्रेष्ठ पनि पराजित हुन पुगेका छन् ।

बर्दिया–१ बाट चुनाव लडेका गौतम नेपाली कांग्रेसका सञ्जय गौतमसँग ७ सय ५३ मतले पराजित भएका थिए भने माओवादी केन्द्रका वरिष्ठ नेता श्रेष्ठ गोरखा–२ बाट नयाँ शक्ति नेपालका संयोजक बाबुराम भट्टराईसँग ७ हजारभन्दा बढी मतान्तरले पराजित भएका हुन् । मुलुकभर वामपन्थीको पक्षमा जनलहर आउँदा यी दुई हस्ती पराजित हुन पुगे ।

त्यसैगरी, कमल थापा नेतृत्वको राप्रपा र पशुपतिशमशेर राणा नेतृत्वको राप्रपा प्रजातान्त्रिकका शीर्ष नेता पनि पराजित भएका छन् । राप्रपाबाट वाम गठबन्धनको समर्थन पाएका राजेन्द्र लिङदेनबाहेक अरु सबै पराजित भए । लिङदेनले कांग्रेसका कृष्ण सिटौलालाई करिब १३ हजार मतान्तरले हराएका हुन् ।

राप्रपा अध्यक्ष कमल थापा मकवानपुर–१ मा एमाले उम्मेदवार कृष्ण दाहालसँग पराजित भए भने सिन्धुपाल्चोक–१ बाट पशुपतिशमशेर राणा एमालेकै शेरबहादुर तामाङसँग पराजित भए ।

राप्रपा प्रजातान्त्रिकका सुनिल थापालाई धनकुटामा एमालेका राजेन्द्र श्रेष्ठले पराजित गरे भने रुपेन्देही–३ मा दीपक बोहोरालाई एमालेकै घनश्याम भुसालले पराजित गरे ।

चितवन–३ मा विक्रम पाण्डेलाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पछि पारिरहेका छन् । जारी गणनामा पनि राप्रपाका अन्य कुनै नेता प्रतिस्पर्धामा देखिएका छैनन् ।

स्रोतः नागरिकन्यूज

Related News

सम्बन्धित समाचार

Recent News

भर्खरै

Trending

ट्रेन्डिङ्ग