जलकुम्भी झार हटाउने नमुना मेशिन यस्तो

राष्ट्र न्यूज सम्वाददाता
कार्तिक ७, २०७४

पोखरा/ फेवा ताललाई कुरुप बनाउने जलकुम्भी झारबाट मुक्ति पाउने उपाय स्वरुप त्यस्तो झार हटाउने ब्यबहारिक मेशिन निर्माण पश्चिमाञ्चल क्याम्पस लामाचौर पोखराका विद्यार्थीहरु जुटेका छन् । बर्खाको समयमा जलकुम्भीले फेवा ताल नै ढाक्दा ताल कुरुप भई पोखराकै आकर्षणमा धक्का लागेको भन्दै विद्यार्थीहरु जलकुम्भी झार हटाउने उपकरण निर्माणमा जुटेका हुन् ।

त्यस्तो मेशिनको नमुना भने यसअघि नै निर्माण गरी इञ्जिनियरिङ अध्ययन गर्दै गरेका विद्यार्थीले परीक्षण समेत गरिसकेका छन् । पोखरामा आइतबार आयोजित कार्यक्रममा उनीहरुले उक्त मेशिनको भिडियो प्रोजेक्टर मार्फत देखाएका थिए । त्यस्तो मेशिन निर्माण गर्न ३७ लाख देखि ४२ लाख रुपैयाँ सम्म पर्ने निर्माणकर्ता टोलीका प्रमुख अशोक लम्सालले बताए । सौर्य प्रणाली, जेनेरेटर वा एसी ग्रिड कुन प्रणालीमार्फत उत्पादित इन्धनले उक्त मेशिन चलाउने भन्ने विषय अनुसार त्यस्तो लागत निर्धारण हुने उनले सुनाए ।

बीई अध्ययन गर्दै गरेका १० जना विद्यार्थीको टिमले पोखराका पर्यटन व्यवसायी सामू उक्त मेशिन आफूहरुले निर्माण गर्न सक्ने तर लागतको अभाव भएको भन्दै त्यस्तो लागत उपलब्ध गराउन आग्रह गरे । यो मेशिनले एक घण्टामा १२ हजार किलो जलकुम्भी झार संकलन गर्न सक्ने दाबी विद्यार्थीहरुको रहेको छ ।

सफा लेक नाम दिइएको उक्त उपकरणलाई प्याडल ह्वील, कटर, फ्ल्यापर, कन्भेयर, कन्टेनर र हलको मद्दतले निर्माण गर्न सकिने कार्यक्रममा प्रस्तुती गरिएको थियो । ताल माथिको पानीमा तैरिएको उपकरणलाई चालकले चलाउने, अगाडीको जलकुम्भीलाई कटरले काटेर फ्यापरको मद्दतले त्यसलाई कन्भेयर मार्फत उपकरणमा रहने दुई हजार किलो अटाउने कन्टेनरमा पुर्याउने प्रणाली विद्यार्थीहरुले देखाएका थिए ।

डब्लू आर सी का चीफ एसोसिएटेड प्रोफेसर नारायणप्रसाद गौतमले कलेजले यस्तो ब्यबहारिक उपकरण बनाउन विद्यार्थीलाई आबश्यक सहयोग गर्दै आएको र रकम उपलब्ध भए कलेजकै अगुवाईमा जलकुम्भी लगायतको झार हटाउने उपकरण केही महिनामा बन्न सक्ने बताए । पुल्चोक इजिनियरिंग कलेजका पूर्व डिन इन्जिनियर भरतराज पहारीले विद्यार्थीले सराहनीय काम गर्न लागेको बताउँदै त्यसका लागि आबश्यक बजेट जुटाउन आफूले पनि सहयोग गर्ने बताए । डब्लू आर सी मेकानिकल विभागका एसोशिएटेड प्रोफेसर रामप्रसाद पौडेलले झार फाल्ने उपकरण बन्न सके पोखराका अन्य तालमा भएको जलकुम्भी पनि हटाउन सकिने बताए ।

हरेक वर्ष हिउँदमा केही कम जस्तो देखिए पनि बर्खा याममा बढी देखिने जलकुम्भी झारले तालको स्वरुप विगार्दै लगेको छ । फेवा ताल संरक्षणको नाममा दुई दर्जन बढी संस्थाहरु गठन गरिए पनि तालबाट जलकुम्भी झार हट्न नसक्नु दुर्भाग्य भएको पश्चिमाञ्चल होटल संघ पोखराका अध्यक्ष भरतराज पराजुलीले बताए । झार हटाउने उक्त उपकरण निर्माणमा आफूहरुले पुनः छलफल गरी सघाउने दिशामा अगाडि बढ्ने पनि उनले बताए । विद्यार्थीलाई हौसला प्रदान हुने र ब्यवहारिक रुपमै मेशिन निर्माण गर्न सके त्यो निकै फलदायी हुने भनाई उनको थियो ।

Related News

सम्बन्धित समाचार

Archives

Archives

Trending

ट्रेन्डिङ्ग