नेहा हत्या प्रकरण: यौन प्रस्ताव अस्विकार गरेपछि हत्या, अभियुक्त सतिशसँग सम्बन्ध

राष्ट्र न्यूज सम्वाददाता
कार्तिक ७, २०७४
Yoruna Pun Neha

रञ्जन अधिकारी पोखरा, २५ माघ  2072/  

‘ह्वाट इफ अल द आर्मीज् लुज देयर जब्स् ?’ लेखिएको रातो रंगको हुड, खैरो ट्रयाक, लामो कपाल पालेका, निराश अनुसार । यो हुलिया थियो । ‘सबै सुरक्षाकर्मीहरु जो आफ्नो जिम्मेवारीबाट च्युत हुन्छ अनि के हुन्छ?’ यस्तो मर्मस्पर्शी शब्द छातीमा बोके उनले तर व्यवहारतः चुके । छातिमा टाँसिएको वाक्यांश झैं सुरक्षाकर्मी उनलाई पक्राउ गर्न भने चुकेनन् ।

सोमबार दिउँसो ठीक साढे १ बजे । जिल्ला प्रहरी कार्यालय, कास्कीको छतमा खचाखत सञ्चारकर्मीमाझ उभ्याईएका थिए सनसनीपुर्ण योरुना हत्या घटनाका अभियुक्त कृतन खड्गी । गत माघ १८ गते राति भएको घटनाको अभियुक्तलाई कास्की प्रहरीले ठ्याक्कै एक हप्तामा सार्वजनिक गरेको हो । अभियुक्त पोखरा ९ नयाँबजारका २१ वर्षीय कृतनलाई सबैलेसतिश नामले चिन्छन्। बाहिरको आवाज चर्को आयो ‘हत्यारालाई फाँसी दे’, ‘हत्यारलाई बाहिर ले’ । घोसेमुण्टो लगाएर प्रहरीमाझ उभिएका सतिश झुलुक्क बाहिर चियाउन प्रयास गरे । बाहिर भिड बाँक्लिँदै थियो । जिप्रका कास्कीको गेट बाहिर प्रहरीको बाक्लो उपस्थितिबीच नाराबाजी चर्को थियो ।

उनीहरु थिए गत माघ १९ गते बिहान पोखरा नयाँगाउँमा मृत फेला परेकी योरुना पुन (नेहा) का आफन्त तथा न्यायका पक्षधरहरु ।चार वर्ष नपुग्दै बुबाको निधन भयो । सबै जिम्मेवारीको वहन गर्नुपर्ने दायित्व थियो सतिशको । एक्ली आमाको सहारा बन्नुपर्ने सतिश आफ्नै साथीको हत्या गरेर अपराधीको कलंकको टीका लगाउँदै जेलमा रहनेछन् अब । महिला दिवसका दिन मार्च आठमा सतिशले फेसबुकमा स्टाटस लेखे ‘आज नारी दिवस, रेस्पेक्ट देम गाईज, दे मिन्ट अ लट फर अस ।’

आज त्यहि सतिश एक नारीको हत्या अभियोगमा प्रहरी हिरासतको चिसो छिँडिमा छन् । यौनको भोक जागेका बेला नशाको सुरले सधैं समसाथमा रहने साथीको हत्या गरेपछि रोएर दिन बित्नेछ उनको ।नेहाको हत्या भएको ठीक एक हप्ताअघि सतिशको जन्मदिन थियो । २५ जनवरीमा फेसबुकमा पहिलो बर्थडे विश योरुना पुन मगरको नाममा छ । राति १२ बजेर १९ मिनेटमा उनले लेखेकी छिन् ‘ह्याप्पी बर्थडे प्यारो दाइ । गड ब्लेश यु दाइ ।’ र सतिशले सबेरै जवाफ फर्काएका छन् ‘थ्यांक यु सो मच बहिनी’ ।

साथीको सम्बन्ध रहेपनि सतिशलाई नेहाले दाई भन्ने गर्थिन् । ओपन हाउसमा बर्थडे सेलेव्रेशन सहितका फोटोहरु पनि सतिशले अपलोड गरेका छन् । उनीहरुबीचको सम्बन्ध कति गाढा थियो भने सतिशका कभर फोटो सहितका प्रायः फोटोहरुमा नेहा नै छिन् । नेहाको कभर फोटोमा समेत सतिश सहितका केटाहरु छन् । नेहाका निकट साथीका अनुसार उनले सतिशलाई मन पराउने थिईनन् । उनले गुरुङ थरका अर्का युवकलाई मन पराउँथिन् । नेहा र सतिश दुवै एल.ए. उच्च माविमा पढेका हुन् । नेपाल भारत मैत्री विद्यालयबाट एसएलसी पास भएपछि नेहा एलएमा पढिन् र हालै प्रकाशित १२ कक्षा नतिजामा उनलाई दुई विषय लागेको छ ।सतिशको गेम हाउस थियो । सबै साथीहरुसँग उनी निकट थिए । नेहा जस्तो निकट साथीको हत्यापछि साथीहरु समेत अचम्मित छन् । सतिश मःमः युजर नेम भएको सतिशको वालमा सीमा लामिछानेले लेखिन्– ओ माई गड । मोमो तैले के गरिस् यस्तो ? आई क्यान्ट विलिभ तैले यस्तो गरिस् भनेर । के सोचेको थिएँ तलाईं । कित यस्तो गिरेको काम गरिस् ?’

यस्तै, नेवार्नी केटी सपनाले लेखेकी छिन्– ‘मोमो साथी किन गरेउ यस्तो गल्ती तिमीले ? गर्न हुन्थेन तिम्ले यो गल्ती । मैले त सोचेको पनि थिएन यस्तो गल्ती गर्छौ भनेर ।’सानैदेखि घमण्डीका रुपमा छिमेकीले चिन्ने गरेपनि साथीहरुमाझ प्रिय थिए सतिश र सबैले मःमः नामले बोलाउथे । अभियुक्तका रुपमा सार्वजनिक भएपछि सोमबार फेसबुकको सर्च बटनमा सतिशको प्रोफाईल पपुलर सर्चका रुपमा दर्ज गरेको छ ।दिउँसो तीन बजेसम्म उनलाई ६३ हजार बढिले हेर्न खोजेको देखिन्छ ।

१०६४ जना लिस्टमा रहेको उनलाई कतिले त सुरुदेखि अन्तिमसम्मका पोष्टमा गाली गरेका छन् भने सयौंले ओपन प्रोफाईल रहेको सतिशलाई अश्लिल गालीको वर्षा गरेका छन् ।

सरी भयो हत्याः

पोखरा १५ नयाँगाउँ घर भएकी १८ वर्षकी नेहाको पनि सानैमा बुबाको निधन भईसकेको छ । एउटी दिदी नदिपुर बस्छिन् । आमगर भाषाको चलचित्रकी नायिका समेत रहेकी उनी निडर, हक्की स्वभावकी थिईन् । नेहा केटीहरुको साथमा भन्दा केटाहरुको ग्यांगमा हिँड्न रुचाउँथिन् । हत्याको केहि हप्ता अघि उनलाई केहि केटीका समुहले कुटपिट समेत गरेका थिए ।जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक हरिबहादुर पालले पत्रकारहरुसँग घटनाको यसरी बेलिविस्तार सुनाए ।

‘पोखरा न्युरोड स्थित स्माईल क्याफेमा रिसेप्सनिष्टका रुपमा कार्यरत नेहा हत्या भएको दिन माघ १८ गते सोमबार न्युरोडको ओपन टेबल रेष्टुरेण्टमा नेहा, सतिश सहितका साथीहरु मिलेर ड्रिंक गरेका थिए । राति ९ बजेतिर कृतनले पहिलेझैं योरुनालाई आफ्नो मोटरसाईकलमा राखेर घर पु¥याएन गए । तर, नयाँगाउँ पुग्ने बेलामा सतिशले नेहालाई लेकसाईड घुमौं र त्यतै होटलमा बसेर राति रमाईलो गरौं भने । दाइ भन्दै आएको सतिशले यस्तो प्रस्ताव गरेपछि नेहाले अश्लिल शब्दमा गालि गरिन् ।

त्यसपछि गाली सुनेर रिस थाम्न नसकी नशाको सुरमा सतिशले हेल्मेटले टाउको पछाडी प्रहार गरे । टाउको अगाडि भागमा पनि प्रहार गरे । नेहा ढलिन् ।’‘सामुहिक बलात्कारपछि हत्या…’ शीर्षकमा समाचारहरु पत्रपत्रिका, रेडियो लगायत सामाजिक सञ्जालमा भाईरल भए । यसैकारण पनि सरस्वती लिम्बुको हत्या घटना सेलाईरहँदा नेहा हत्याको घटनाले पोखरामात्र होईन काठमाण्डौं नै तात्यो । बलात्कार नै हो त?

अभियुक्तको बयान र पोष्टमार्टम रिपोर्ट आधारमा एसपी पाल थप्छन्– ‘सामुहिक बलात्कार अर्थात् यौनसम्पर्कको कुरा देखिएन । जब राति रमाईलो गर्ने प्रस्ताव नेहाले मानिनन् । मापसेको सुरमा सतिशले नेहालाई हेलमेट प्रहार गरे । ढलेपछि उनको कपडा खोलेर यौन सम्पर्क गर्न खोजेको तर टाउको, कान र नाकबाट रगत बहेकाले डराएर छाडेर घरतर्फ हिँडेको देखिन्छ ।’अर्धनग्न शवको कारण बताएका एसपी पालले कालो कपडकाको बारेमा भने प्रहरी प्रवक्ता समेत रहेका प्रहरी नायव उपरीक्षक गजुसिद्धि बज्राचार्यलाई जानकारी गराउन निर्देशन दिए ।

घटनाको अनुसन्धानका लागि नेतृत्व गरेका बज्राचार्यले कालो कपडा नेहाकै सल भएको बताए । तर, घटनाको प्रत्यक्ष अवलोकन गरेकाहरुले त्यो सल नभएको र अर्कै ठुलो कालो कपडा भएको बताउँछन् । त्यो कालो सल चाहिँ कसले छोपेको ? प्रश्न सोझिएपछि थप अनुसन्धानकै क्रममा रहेको भन्दै बज्राचार्यले भनिहाले– ‘सबै कुरा आज सकिएको भए त भोलि नै फाईल बुझाए भईहाल्यो नि । अझै क्लियर हुनुपर्ने कुरा छन् ।’ प्रहरीको यस भनाईले आशंकाको ठाउँ रहन्छ । सतिशले मात्र हत्या गरेको भएपनि राति पिउने क्रममा अरु साथीहरु पनि रहेका कारण उनीहरुको संलग्नता छ कि छैन ? सतिशले हालसम्म आफु मात्र जिम्मेवार रहेको स्वीकार गरेका छन् र यसै आधारमा हत्यारा सार्वजनिक गर्न चौतर्फी दबाबका बीच प्रहरीले हतार गरेको हो ।

डिएसपी बज्राचार्यका अनुसार नेहाको मृत्यु अत्यधिक रक्तश्रावबाट भएको हो । थप अनुसन्धानका लागि रिपोर्ट काठमाण्डौं पठाईएको उनले बताए । बज्राचार्यले पनि बलात्कार हुने अवस्थाहरु केहि नदेखिएको प्रष्ट पारे । हत्या भएको दिन सतिशले आफ्नो हङकङ जाने साथीले दिएको पार्टीमा नेहालाई सहभागी गराएका थिए । यही आधारमा हत्यापछि उनी सहितका साथीहरु, स्माईल क्याफेका कर्मचारीहरुलाई निगरानीमा राखेर अनुसन्धान अघि बढाएको थियो । अनुसन्धानमा प्रहरी निरीक्षकहरु देवी पौडेल, गणेश बम गंगा थापा, बेद जोशी लगायत सहभागी थिए ।

सरस्वती लिम्बुको हत्या चाहिँ ओझेलमा !

समयका हिसाबले नेहाको भन्दा सरस्वतीको हत्या अघि भएको थियो । मोरङ घर भएकी लिम्बुको शव पोखरा ५ मालेपाटन शान्तिनगरमा भेटिएको थियो । ४० वर्षीया लिम्बुको मृत्यु पनि टाउकोमा चोट लागेर नै भएको थियो ।

पोखरा ५ जागृतिमार्गमा डेरामा छोरासँग बस्दै आएकी उनको मृत्यु के कारणले भएको हो भन्ने बारे कास्की प्रहरीले अहिलेसम्म कुनै प्रमाण फेला पार्न सकेको छैन । एसपी हरिबहादुर पालका अनुसार सरस्वती लेकसाईड खहरे स्थित एक होटलमा काम गर्थिन् ।उनी राति साढे ९ बजेतिर कामबाट फर्कने र सदाझैं घटना भएको दिन माघ १६ गते पनि घर आएर राति सुतेपछि बाहिर निस्किएकी थिईन् । १० वर्षदेखि श्रीमानको पत्तो नभएका लिम्बु मानसिक विमारी रहेको पाल बताउँछन् । माघ १६ गते राति अन्दाजी १० बजेतिर घटनास्थल वरपर लिम्बु हिँड्ने, बर्बराउने गरेकाले उनको मृत्यु कसरी भयो भन्नेबारे यसै भन्न सक्ने अवस्था नभएको पालले बताए ।

८–१० वर्षदेखि मानसिक अवस्था ठीक नभएको तर होटलमा काम गर्दै आएकी भनेर पालले बताएपछि यसबारे थप जिज्ञासा राख्दा अनुसन्धानकै क्रममा रहेको र हत्या वा आफैं लडेर मृत्यु भएकोबारे भन्न नसकिने बताए । नेहाको हत्या सम्बन्धमा पोखरादेखि राजधानी नै तातेको बेला सरस्वतीको केशलाई पनि कम नठान्न सुझाव रह्यो

आदर्श समाज दैनिकमा प्रकाशित न्युज

2072 10 25

Related News

सम्बन्धित समाचार

  • सबै रेकर्ड तोडियो, मोबाइल आयात अहिलेसम्मकै उच्च

    राष्ट्र न्यूज सम्वाददाता जेठ ११, २०७८
    काठमाडौँ, जेठ १० । कोरोना  सङ्क्रमणका  कारण अभौतिक   (भर्चुअल)   गतिविधि   बढ्दा   त्यसको   प्रत्यक्ष प्रभाव  मोबाइल…
  • फेरि होला लकडाउन ?

    राष्ट्र न्यूज सम्वाददाता चैत्र ११, २०७७
    काठमाडौं : कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रण गर्न लकडाउन गरिएको एक वर्ष पूरा भएको छ। सरकारले ठीक एक वर्षअघि चैत ११…
  • राष्ट्रपति भण्डारी बंगलादेश जाने

    राष्ट्र न्यूज सम्वाददाता फागुन २८, २०७७
    राष्ट्रपति विद्यादेवी भण्डारीले छिमेकी मुलुक बंगलादेशको भ्रमण गर्ने भएकी छन् । भण्डारीले चैत ९ र १० गते बंगलादेश भ्रमण गर्ने…
  • फेरी बढ्यो पेट्रोलियम पदार्थको मूल्य

    राष्ट्र न्यूज सम्वाददाता फागुन १८, २०७७
    भारतीय आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएर पठाएको छ। आइओसीले सोमबारदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएर पठाएको…
  • आज श्रीस्वस्थानी व्रत सकिदै

    राष्ट्र न्यूज सम्वाददाता फागुन १५, २०७७
    पोखरा, १५ फागुन । पौष शुक्ल पूर्णिमा दिनबाट शुरु भएको श्रीस्वस्थानी व्रत आज सकिदै छ । आजबाट श्रीस्वस्थानी परमेश्वरीको पुस्तकलाई…

Archives

Archives