हेमजामा छैटौं हिले महोत्सवको तयारी पूरा, कृषि संस्कृति र पर्यटन प्रवद्र्धनका विविध कार्यक्रम

राष्ट्र न्यूज सम्वाददाता
असार १४, २०८३
DSC06176

पोखरा । पोखरा महानगरपालिका–२५, हेमजामा आइतबार आयोजना हुने छैटौं हेमजा हिले महोत्सवको सम्पूर्ण तयारी पूरा भएको छ। देवीस्थान सेवा समाज, हेमजाको आयोजनामा राष्ट्रिय धान दिवस तथा दही–चिउरा खाने पर्वको अवसरमा सञ्चालन हुने महोत्सवले कृषि, संस्कृति, पर्यटन र सामुदायिक एकतालाई प्रवद्र्धन गर्ने अपेक्षा गरिएको आयोजकले जनाएको छ।

महोत्सवका लागि कार्यक्रमस्थलको खेत हिल्याउने, प्रतियोगिता सञ्चालन गर्ने स्थानको व्यवस्थापन तथा अन्य आवश्यक पूर्वतयारी सम्पन्न भएको समाजका अध्यक्ष कृष्णमान श्रेष्ठले जानकारी दिए। उनका अनुसार हेमजाको कृषि सम्भावनालाई पर्यटनसँग जोड्दै विष्णुपादुका धार्मिक क्षेत्रको प्रचार–प्रसार, आन्तरिक तथा बाह्य पर्यटकको आगमन वृद्धि, स्थानीय कृषकको सम्मान तथा युवालाई कृषि पेशाप्रति आकर्षित गर्ने उद्देश्यले महोत्सवलाई निरन्तरता दिइएको हो।

‘हेमजाको मौलिक कृषि संस्कृति संरक्षण गर्दै यस क्षेत्रलाई कृषि पर्यटनको गन्तव्यका रूपमा स्थापित गर्ने हाम्रो लक्ष्य हो’ अध्यक्ष श्रेष्ठले भने, ‘सवैको उत्साहजनक सहभागिताले महोत्सव भव्य रुपमा सफल बनाउन सवैमा आग्रह गर्दछु।’

महोत्सव अन्तर्गत हिले दौड, रस्साकस्सी, घैँटो फुटाउने, कृषि झाँकी प्रदर्शन, विद्यालयस्तरीय धान रोपाइँ प्रतियोगिता, उत्कृष्ट किसान सम्मान, जोडी दौड, आमा समूहबीच असारे भाका प्रतियोगिता, हिलोमा भाले तथा माछा समाउने, हिले भलिबल र हिले फुटबललगायतका प्रतियोगिता सञ्चालन गरिनेछन्। स्थानीय कलाकारहरूको सांस्कृतिक प्रस्तुति पनि महोत्सवको आकर्षण रहने आयोजकले जनाएको छ।

मूल आयोजक समितिकी संयोजक तथा समाजकी उपाध्यक्ष चन्द्रकला पोख्रेलले कृषकको पर्वका रूपमा सञ्चालन हुँदै आएको महोत्सवले कृषि संस्कृतिको संरक्षणका साथै कृषकप्रति समाजको सम्मान अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरिन्। उनका अनुसार महोत्सवले स्थानीय उत्पादन, परम्परा र सामुदायिक सहकार्यलाई एकै स्थानमा उजागर गर्ने अवसर प्रदान गर्नेछ।

‘कृषिमा कृषकलाई प्रोत्साहन, विष्णुपादुका मन्दिर हेमजाको सान’ भन्ने मूल नाराका साथ आयोजना हुने महोत्सवमा विभिन्न प्रतियोगिताका प्रथम र द्वितीय हुने व्यक्ति तथा समूहलाई नगद पुरस्कार, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ।

महोत्सवको उद्घाटन पोखरा महानगरपालिका–२५ की कार्यवाहक वडा अध्यक्ष तथा कार्यपालिका सदस्य धनकुमारी पोख्रेलले गर्नेछिन् । आयोजकका अनुसार असार १५ गते बिहान ९ः३० बजे विष्णुपादुका माइस्थान मन्दिरबाट झाँकीसहितको ¥याली सुरु भई देवीस्थान मार्ग हुँदै मिलचोक परिक्रमा गर्दै महोत्सव स्थल पुग्नेछ। त्यसपछि औपचारिक उद्घाटनसँगै दिनभर विभिन्न कृषि, खेलकुद तथा सांस्कृतिक कार्यक्रम सञ्चालन गरिनेछन्।

विगत पाँच संस्करणदेखि निरन्तर आयोजना हुँदै आएको हेमजा हिले महोत्सवले स्थानीय कृषि परम्पराको संरक्षण, कृषिप्रति युवाको आकर्षण वृद्धि तथा हेमजाको धार्मिक र पर्यटकीय पहिचानलाई राष्ट्रिय स्तरमा प्रवद्र्धन गर्न महत्वपूर्ण भूमिका खेल्दै आएको आयोजकको विश्वास छ। यस वर्ष पनि महोत्सवमा पोखरा तथा आसपासका क्षेत्रबाट उल्लेख्य सहभागिता रहने अपेक्षा गरिएको छ ।

Related News

सम्बन्धित समाचार

Recent News

भर्खरै

Trending