प्रदूषण जाँचमा पास नहुने सवारी साधनलाई एक लाख जरिवाना गरिने

रासस
मंसिर २२, २०७९
money

काठमाडौँ, २२ मङ्सिर (रासस) :सरकारको परीक्षणमा प्रदूषण जाँच पास हुन नसक्ने सवारी साधनलाई रु एक लाखसम्म जरिवाना गरिने भएको छ ।

वन तथा वातावरण मन्त्रालयअन्तर्गतको वातावरण विभागले त्यस्ता सवारी साधनलाई आगामी पुस १ गतेदेखि वातावरण संरक्षण ऐन, २०७६ को दफा ४१ को उपदफा २ बमोजिम जरिवाना हुने स्पष्ट पारेको हो ।

हाल सवारी साधनमा धुँवा परीक्षण गर्दा तोकिएका मापदण्डभन्दा बढी प्रदूषण गरिरहेका सवारी साधनलाई एक पटकका लागि मर्मत गरी अवस्था दुरुस्त राख्न अवसर दिइएको छ ।

विभागले आज एक सूचनामार्फत पुस १ गतेपछि भने विभागको परीक्षणमा प्रदूषण जाँच पास हुन नसक्ने सवारी साधनलाई जरिवाना हुने जनाएको छ ।

विभागले सवारीको मर्मत गरी तोकिएको मापदण्डको सीमासम्म मात्र प्रदूषण गर्ने बनाइ जाँचपास गराएर मात्र सार्वजनिकस्थानमा सञ्चालनमा ल्याउन अनुरोध गरेको छ ।

विभागका प्रवक्ता शङ्करप्रसाद पौडेलका अनुसार जुनसुकै समयमा विभागबाट छड्के जाँच हुनसक्ने र प्रदूषण जाँचपासको रुपमा यसअघि जारी भएको हरियो वा अन्य स्टिकरको अवधि बाँकी रहेको अवस्थामा पनि प्रदूषण जाँचपास अनुत्तीर्ण हुने सवारी साधनलाई जरिवानालगायतका कारबाही हुनेछ ।

हिउँदको मौसममा काठमाडाँै उपत्यकालगायत देशका धेरै ठाउँमा वायु प्रदूषणको अवस्था बिग्रदै गएको छ । वायु प्रदूषणका मुख्य कारकमध्ये सवारी साधनबाट निस्कने धुँवा र खुल्ला रुपमा फोहर जलाउँदा निस्कने धुँवा प्रमुख कारण हुन् ।

वातावरण विभागबाट पछिल्लो समयमा गरिएको छड्के जाँचमा काठमाडौँ उपत्यकामा सञ्चालन भइरहेका सवारी साधनको धुँवा निष्कासनको अवस्था अत्यन्त दयनीय पाइएकाले उक्त सूचना जारी गरिएको हो ।

आगामी दिनमा विभागले सवारी साधनको धुँवा निष्कासनको अवस्थाको परीक्षणलाई सघनताका साथ प्रभावकारी रुपमा गर्ने जनाएको छ ।

साथै आफ्नो टोल छरछिमेकमा खुला रूपमा कोही कसैले फोहर जलाउने कार्य गरिरहेको छ भने त्यसको जानकारी विभागमा गराउनसमेत अनुरोध गरिएको छ । यस्तो जानकारी दिनेको परिचय गोप्य राखि दोषीमाथि नियमानुसारको कारबाही हुने सूचनामा उल्लेख छ ।

Related News

सम्बन्धित समाचार

Archives

Archives