स्रोत नखुलेको ६९ लाख रकमसहित तीन पक्राउ

रासस
भाद्र २, २०७९
arrest-generic_650x400_71463458726

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनको टोलीले स्रोत नखुलेको रकमसहित काठमाडौँ मनमैजुका ४५ वर्षीय माधव श्रेष्ठ, बारा घर भई काठमाडौँको कुलेश्वर बस्ने ३३ वर्षीय सुनिलकुमार साह र धनुषा जनकपुर घर भई काठमाडौँको टेकु बस्ने ३३ वर्षीय अङ्कित गोयन्कालाई पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

कार्यालयका सूचना अधिकृत प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाले गैरकानुनीरूपमा हुण्डीमार्फत वित्तीय कारोबार गर्दै आएका उनीहरुलाई काठमाडौँको घण्टाघर क्षेत्रबाट पक्राउ गरिएको जानकारी दिनुभयो ।

काठमाडौँ महानगरपालिका–२८ घण्टाघरस्थित जामे मार्केट भवनमा सटर भाडामा लिई श्रेष्ठले सञ्चालन गरेको सन्जोग टुर्स एण्ड ट्राभल्स प्रालिमा लुकाइछिपाइ राखेको रकम र हुण्डीको भुक्तानी गर्न आएका अङ्कित गोयन्काका कर्मचारी साह र गोयन्कालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

प्रहरीले गोयन्काले कलङ्कीमा सञ्चालन गरेको आनी इन्टरनेशनलको कार्यालयबाट थप रु नौ लाख बरामद गरेको छ । यस्तै, फास्ट ट्रयाक इन्टरनेशनल प्रालिको नाममा काटिएको सानिमा बैंकको रु १५ लाख बराबरको चेकसमेत प्रहरीले बरामद गरेको छ ।

पक्राउ परेका तीनै जनालाई आवश्यक अनुसन्धान एवं कारबाहीका लागि राजस्व अनुसन्धान विभाग हरिहरभवन पठाइएको सूचना अधिकृत कोइरालाले बताउनुभयो ।

Related News

सम्बन्धित समाचार

Archives

Archives